जेठ २६ । कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ।
कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार भएका छैनन्।
मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन्। मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ।
राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा छन्। यस दलको संसदमा बलियो बहुमत रहेको छ। विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ।
खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेका छन्। चुनावी पर्यवेक्षकहरुका अनुसार उनको स्थिति निकै कमजोर छ। उनले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताएका छन्।
मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ। तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ। मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ।
मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ। मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन। रासस/एपी


























