चितवन, जेठ २५ । चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ। सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैँया आर्थिक सहयोग गरेको हो।
आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। हेटौडामा मुख्य कार्यालय रहेको सो आश्रमको ७ वटै प्रदेशका १६ जिल्लामा २५ वटा शाखामा १०४ वालवालिका सहित एक हजार ७०० जना आश्रित छन्। चितवन शाखामा ४ जना वालवालिका सहित ६५ जना सडकबाट उद्धार गरिएका व्यक्तिहरु रहेका छन्। रकम हस्तान्तरण कार्यक्रममा मेयर वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकालाई प्रशांसा गरेर नसकिने बताए। यो आश्रम सडकमा जीवन विताइरहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको मन्दिर हो उनले भने यहाँ जति सहयोग गरेपनि कमी हुन्छ।
स्थानीय सरकारको हैसियतले मान्छेको बाच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। उपमेयर दुवाडीले सडकमा जीवन व्यतित गरिरहेका बृद्धबृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानब सेवा आश्रमले मानबताको ठुलो उदाहरण पेश गरेको बताइन्। आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को बर्ष नेपाललाई सडक मानब मुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए। सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अबस्थाको अन्य गर्ने प्रयासमा हामी छौं उनले भने त्यसका लागि मानवता प्रर्बधनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ। तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाई छ।
रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,वडा नं १० का वडाध्यक्ष केशव आचार्य,प्रशासकीय अधिकृत अर्जुन पंगेनी लगायतको सहभागिता रहेको थियो। यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधिन मानब सेवा आश्रमको भवनको मेयर वन,उपमेयर दुवाडी सहितका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन्।


























