जेठ २१ । बलिउड सुपरस्टार सलमान खानका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन्। तर, कोरोना भाइरस र लकडाउनका निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ। जसका कारण निर्माण टिमलाई ठूलो घाटा भएको छ।
निर्माण टिम सरकारले जूनको अन्त्यबाट छायांकन अनुमति दिने आशमा छ। ‘टाइगर ३’ मा तीन सय जनाको टिमले काम गर्ने भएकाले छायांकन सुरु हुनभन्दा अगाडि सबैको भ्याक्सिनेसन हुनुपर्नेछ।
छायांकन सुरु हुनुभन्दा अगाडि सेट बनाइराख्नु निकै महंगो पर्ने भएपछि फिल्म निर्माण कम्पनीले सेट भत्काउने निर्णय गरेको हो। अब जहिले फिल्मको काम सुरु हुन्छ तब सेट बनाइने भएको छ। अहिले सेट बनाउनुभन्दा छायांकन सुरु हुने समयमा बनाउँदा धेरै नोक्सान नहुने निर्माण पक्षको निष्कर्ष छ। फिल्ममा सलमान खान, कटरीना कैफ र इमरान हाशमीको मुख्य भूमिका रहनेछ। एजेन्सी


























