जेठ १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन्। ५६ वर्षीय बोरिसले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेको बीबीसीले जनाएको छ।
यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन्। उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ।उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए। गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।
वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ। जोन्सनको विवाह एकदमै गोप्य राख्ने कोशिस गरिएको थियो। विवाहबारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा नदिइएको जनाइएको छ।
विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको थियो।


























