जेठ १४ । नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ। यो शोको प्रशारण २ साताअघि रोकिएको थियो।
शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो। २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो।
तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ। यो शोका निर्देशक लक्ष्मण पौडेलले आउँदो साताबाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन्।
दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ। हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो। तर, २ साता अगाडि कोरोनाको जोखिम बढेपछि शोको प्रशारण रोकिएको थियो।
शोको ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ। आउँदो साताका लागि प्रशारण हुने भागको छायांकन भैसकेको वुझिएको छ।


























