मुम्बई, जेठ १२ । एक समय थियो, जब रणवीर कपूर अभिनेत्री दीपिका पादुकोणको प्रेममा पागल थिए। तर दुईबीचमा दुरी आएपछि यो जोडी सदाका लागि अलग्गियो।
हाल दीपिका विवाह गरेर घर बसाइसकेकी छन्। रणवीर भने अभिनेत्री आलिया भट्टसँग डेटमा रमाइरहेका छन्। रणवीर, आलिया र दीपिकाको यो त्रिकोणको बारेमा बलिउडमा चर्चा भइरहन्छ।
एबीपी लाइभका अनुसार यी तीन कलाकारको लोकप्रियतालाई नजिकबाट नियालिरहेका निर्देशक सञ्जय लीला भन्सालीले उनीहरुलाई एकसाथ पर्दामा ल्याउने योजना बनाइरहेका छन्।
उनले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा भइरहँदा सञ्जयले रणवीर र आलियालाई पनि यो फिल्ममा ल्याउन चाहेका छन्।
फिल्ममा आलियालाई दोस्रो प्रमुख भूमिकामा अफर गरिएको छ। फिल्ममा पुरुष प्रमुख भूमिकामा रणवीर कपूर हुनेछन्। यद्यपि यी तीन कलाकारले अहिलेसम्म फिल्मका लागि सहमति जनाइसकेका छैनन्।
रणवीरले दीपिकासँग कैयौंपटक स्क्रिन शेयर गरिसकेका छन्। उनीहरुको जोडीलाई दर्शकले पनि उत्तिकै रुचाएका छन्। आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक सँगै देखिँदैछन्। एजेन्सी

























