– मोनिक पौडेल
सुख्खा जमिनमा गर्ने खेतीको विशेषता कृषि मानव सभ्यताको एउटा ठूलो उपलब्धी हो। संसारमा कृषि नभएको भए मानव जीवन पनि सम्भव हुने थिएन। हुन त नेपालमा कृषि क्षेत्रबारे धेरै व्याख्या गर्नुपर्दैन। हामीलाई थाहा नै छ। नेपालमा ६६ % जनसंख्या कृषिमा सम्लग्न छन्। नेपालको कुल गाह्रस्थ उत्पादनमा २६.५% कृषि क्षेत्रले ओगटेको छ। तर, पनि हाम्रो धेरै कमजोरीको कारणले हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं। अंग्रेजी वर्षको सन् २०१९/२० मा नेपालले २ खर्ब ५० अर्ब कृषिजन्य साम्रागी आयात गरेको छ। यो अवस्थामा हामीले नेपालको विभिन्न ठाउँअनुसार सम्भावित खेती गर्नुपर्छ।
आज म सुख्खा जमिनमा गर्ने खेतीको विषयमा कुरा गर्ने छु। सुख्खा जमिनको खेतीमा वार्षिक वर्षा ७५०-११५० मिलिमिटर हुने गर्छ। यस्तो अवस्थामा खेती हुने बालीहरुको अवधि ७५ देखि १२० दिनसम्म हुन्छ। सुख्खा जमिनमा खेती गर्नुअघि हामीले त्यो ठाउँको मौसम, माटो, सामाजिक र आर्थिक अवस्था राम्रोसँग बुझ्नुपर्छ। यस्तो ठाउँमा कम पानी पर्ने भएकोले बालीको विकास र उत्पादनमा असर पर्छ। यहाँ मनसुन ढिलो सुरु हुन्छ र बाली लगाउने समय पनि ढिलो हुन पुग्छ। यस्तो जमिनमा वनस्पति कम हुने गर्छ।
माटोको क्षरण पनि बढी देखिन्छ भने उर्वरशक्ति कम हुन्छ। यस्तो खेती हुने ठाउँमा खेतीका स्रोतहरु कम हुन्छन्। किसानको आर्थिक र सामाजिक अवस्था पनि बलियो हुँदैन। सुख्खा जमिनमा खेती गर्दा हामीले कसरी पानीको खपत कम गर्न सकिन्छ भन्ने कुरा मुख्य रहन्छ। यो विषयमा हामी तल थप स्पष्ट हुनेछौँः
क) पानी जम्मा गरेर राख्ने :
हामीले यस्तो ठाउँमा आकाशबाट आएको पानी र जमिनमा धेरै भएर बगेर गएको पानी जम्मा गर्नुपर्छ। हामीले पानीलाई खाल्डो बनाएर, पोखरी बनाएर र छानोबाट बगेको पानी ट्याङ्कीमा जम्मा गरेर पानीको कमिलाई केही हदसम्म कम गर्न सकिन्छ।

ख) पानी बचाउने खेती गर्ने तरिका उपनाउने :
हामीले खेती गर्दा जमिन अग्लो (रिज) र होचो (फेरो) बनाएर तयार गर्न सकिन्छ। माटो हलुका छ भने फेरोमा बाली रोप्नुपर्छ र सारो छ भने रिजमा रोप्नुपर्छ। यसो गर्दा पानी खेतका पङ्क्तिहरुको बीचमा जम्मा हुनेगर्छ। हामीले चाक्लो ब्याड बनाएर खेती गर्दा पानी फेरोमा बगाएर पोखरीमा जम्मा गर्न सकिन्छ। मुख्य प्लटको एक वा दुवै कुनामा हल्का भिरालो प्लट बनाएर बगेको मुख्य प्लटमा पानी पठाउन सकिन्छ।
ग) पानी खेर जान नदिने :
पानी खेर जान नदिन तराईमा जमिनको सतह एउटै पार्ने वा आली लगाउने गरिन्छ। पहाडमा गह्रा/काल्ला (Contour) वा टेरेस फार्मिङ गर्न सकिन्छ। खेतीमा मल्चिङ प्रयोग गरेर पानी खेर जानबाट बचाउन सकिन्छ। बोटविरुवाको उत्स्वेदन (transpiration) प्रक्रिया कम गर्न पातमा फेनायल मर्कियुरिक एसिटेट ( ४० ग्राम/लि) वा व्याक्स/ल्याटेक्स हाल्न सकिन्छ। हामीले हावा छेक्ने ठूलाठूला रुखहरु लगाउन सक्छौं। कम गहिराइमा खनजोत गर्न पनि सक्छौँ।
घ) बाली र त्यसको जात छान्दा सतर्कता अपनाउने :
हामीले थोरै बाली अवधि भएको, गहिरो जरा भएको, होचो , सिँचाइ र मललाई राम्रो प्रतिक्रिया दिने, प्रकाश र तातोले असर नगर्ने, प्रभावकारी प्रकाश संष्लेषण भएको, कम पानी चाहिने र सुक्खा अवस्थालाई प्रतिरोध गर्न सक्नेखाले बाली र जात छान्नुपर्छ। जौ, गहुँ, धानको सुख्खा जात, कोदो, काग्नो, फापर, मुङ, लट्टे, चना, मास, खैरो रायो जस्ता बाली लगाउनुपर्छ। सुख्खा जमिनमा एउटै बाली वा विभिन्न बाली लगाउन सकिन्छ।
माथि उल्लेख गरेअनुरुप पानी जम्मा गर्ने र खेर नफाल्ने तरिका अपनाएका छौँ भनेमात्र सुख्खा जमिनमा विभिन्न खालका बाली लगाउन सकिन्छ। यो खेतीमा बीऊ दर बढी हुने गर्छ। बीऊ रोप्ने गहिराइ पनि धेरै हुने गर्छ। यो खेतीमा सामान्यरूपमा हालिने नाइट्रोजनको दरभन्दा २५ देखि ५० % कम हालिन्छ।
लेखक कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी हुन्।


























