जेठ ९ । सार्वजनिक मञ्च पाएपछि कलाकार भएभरका ज्ञान छाँट्छन् तर जब व्यवहारमा लागू गर्ने बेला हुन्छ, त्यो ज्ञान कहीँ देखिँदैन। उनीहरूको बोली ‘कन्जम्सन’मा मात्र सीमित हुन्छ। सेलेब्रिटीले रेडियो–टेलिभिजनमा बोल्ने एउटा तर व्यवहारमा अर्कै गरेका उदाहरण प्रशस्त भेटिन्छन्। दीपकराज गिरी यो विरोधाभाषका ताजा उदाहरण हुन्।
धेरै भएको छैन, दीपकराज गिरीले ‘ऐना’ नामक टेलिभिजन कार्यक्रममा आफूले अनुहारकै कारण दुव्र्यवहार खप्नुपरेको लामा लामा किस्सा सुनाएका थिए। यो क्रममा उनले ‘सुन्दर मेरो नाम’ शीर्षकको फिल्ममा अभिनय गर्दा शारीरिक रुपमा फरक मान्छेलाई समाजले हेर्ने नजर फरक हुँदोरैछ भन्ने अनुभूत भएको बताएका थिए।
‘मानिसको शारीरिक अवस्थालाई हेरेर जज नगर, ऊभित्र पनि त्यस्तै सपना हुन्छन् भन्ने सन्देश थियो। सिनेमा रिलिज भएको समयमा अपांगता भएका साथीले मलाई आफ्नै कथा देखाइदियो भनेर खुसी पनि हुनुभएको थियो,’ उनले भनेका थिए, ‘सिर्जनाशीलता विकास नभइसकेको अवस्थामा शारीरिक हाउभाउ र बनावटलाई लिएर हँसाउने प्रयास गथ्र्यौं। तर हामी पछिल्लो समय सचेत छौं। कोसिस गरिरहेका छौं । पहिला गरेका यस्ता काममा पछुतो पनि लाग्छ।’
दीपकराज गिरीले टेलिभिजनमा यसो भनेको एक महिना पनि नबित्दै उनले आफैंले बोलेको कुरा रत्तिभर ख्याल नगरी शारीरिक अपांगतालाई जोडेर स्ट्याटस लेखेका छन्। उनले शनिबार राति पोस्ट गरेको स्ट्याटसमा लेखिएको छ, ‘प्लास्टिकको झोला भन्दा खतरनाक रहन्छ पार्टीको झोला, जसले बोक्यो त्यसको आँखा अन्धो ! कान बहिरो। बुद्धिमा ढक्कन।’
दीपकराज गिरीले फेसबुकको स्ट्याटसमा राखेका अन्धो र बहिरो दुवै शब्दले शारीरिक दुर्बलतालाई गिज्याउँछन्। यी शब्द प्रयोग गर्नुहुन्न भनेर हजारौं पटक बहस भइसकेको छ। तर, आफैंलाई अनुहारकै कारणले हिरो मानेनन् भनेर गुनासो गर्ने गिरीले फेरि त्यस्तै शब्द प्रयोग गरेर दृष्टिविहीन र सुस्त श्रवणलाई गिज्याउन कसरी सक्या ?
दीपकराज गिरी यिनै लोकप्रिय हाँस्य कलाकार हुन्, जसले तीतो सत्य नामक शृंखला डेढ दशक जति चलाए, जहाँ शरीरलाई लिएर गैँडा–हात्ती भन्दै बडी सेमिङ गरे। उनको शृंखला हेर्दै हुर्केको पुस्ताले उनीबाट बडी सेमिङ खराब हो भन्ने सन्देश कुनै एपिसोडमा पाएन। शेरबहादुर देउवा, सुशील कोइरालाहरुको बोली–लबजलाई लिएर क्यारिकेचर गर्नु पनि बडी सेमिङ नै हो।


























