काठमाडौँ ०८ जेठ । अन्ततः प्रतिनिधिसभा भंग भएको छ। शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो। यसअघि गत पुस ५ गते पनि प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए। तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो। प्रधानमन्त्री ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए।


























