मकवानपुर, जेठ ६ । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन जारी छ। ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनसहित मतदान सुरु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान जारी छ। उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ। मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ। केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ। उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ। निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।
निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ। नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो। वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन भएको हो।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुखका लागि फरक मतपत्र हुनेछ। फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको छ। मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ। नतिजा भर्चुअल माध्यमबाट उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ। मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ।
मतगणना साँझ ५ बजेदेखि सुरु गरिने छ। आजै बेलुकासम्ममा नतिजा आइसक्ने छ।


























