लमजुङ, जेठ ५ । भूकम्पबाट लम्जुङमा ४ जना घाइते भएका छन्। १२ वटा घर भत्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छन्। अर्का दुई जना घाइतेको नाम खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १२ घर भत्केको जानकारी प्राप्त भएको छ। घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए। उनका अनुसार भत्किएका सबै कच्ची घर हुन्। घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए।
गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए। लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।


























