जेठ २ । फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान निधन भएको हो।
फिल्म निर्देशक प्रकाश सायमीका अनुसार उनको आइतबार बिहान सवा १० बजे निधन भएको हो। विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए।
उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन्। उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।
उनका ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन (उपन्यास)’, ‘बसिबियाँलो (कथासंग्रह), ‘माया पिरतीको कथा’, ‘जुन निदाउन थाल्यो (गीत संग्रह)’, ‘कल्पना टुट चुकी है (हिन्दी कविता)’, ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता)’ प्रकाशित छन्।
उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्ममा पाइला चालेका थिए। उनका श्रीमति र दुई छोरा छन्।
























