चितवन ३१ वैशाख । चितवन प्रहरीले बिहीबार नक्कली पत्रकारलाई पक्राउ गरेको छ। भरतपुर ३ पुल्चोकमा चेकजाँच गर्ने क्रममा गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको नाममा प्रेस लेखी बनाएको परिचयपत्र भिरेका गैँडाकोट ५ बस्ने भोजराज लामिछानेका छोरा २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको हो। रिपोर्टर हुँ भन्दै देखाएको परिचयपत्र देखाएकोमा शंका लागि सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिए।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए। पछिल्लो समय कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञापछि बजारमा नक्कली पत्रकारको बिगबिगी बढ्दै गएको छ। पत्रकारहरुको परिचयपत्र बनाउने ठाउँमा जाने हो भने सञ्चार क्षेत्रमै नभएका व्यक्तिहरु पनि पत्रकारको परिचयपत्र बनाइरहेका भेटिन्छन्। यस विषयमा नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलगायतका सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ।


























