काठमाडौं, बैशाख ९ । नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरण बुझाउन थालेका छन्। नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो।
६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण एकै व्यहोराको छ। तोकिएकै समयमा सबै सांसदले एक्लाएक्लै स्ष्टीकरण बुझाउन थालेका हुन्। सांसद जीवनराम श्रेष्ठले बेग्ला बेग्लै गरेर आजै सबैले स्पष्टीकरण बुझाइसक्ने बताएका छन्।
स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले वुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानमा सामूहिक छलफल गरेका थिए। छलफलमा स्पष्टीकरण बुझाउने विषयमा छलफल भएको श्रेष्ठले बताए।
यसैबीच नेता सुरेन्द्र पाण्डले पनि स्पष्टीकरण बुझाएका छन्। पाण्डेले बुझाएको स्पष्टीकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन्।


























