चैत्र २६ । निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ। ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ। यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन्।
च्लचित्रको बिषयमा भूवनले भने–‘हो, हामी माइतीघर २’ बनाउने तयारीमा छौं। चलचित्रको कथावस्तु तयार भैसकेको छ।’ भूवनले आफ्नै ब्यानरमा चलचित्र ‘पारस’ पनि बनाउने तयारी गरेका छन्। तर, ‘माइतीघर २ र पारस’ मध्ये कुन चलचित्र पहिले बन्ने भन्ने बिषयमा पक्का नगरिएको भूवनले बताए। उनले भने–‘हामी दुबै चलचित्र एकपछि अर्को रुपमा बनाउनेछौं। कुन चलचित्रको छायांकन पहिले गर्ने भन्ने बिषयमा छलफल हुँदैछ।’
भूवनका अनुसार, यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्दैछन्। चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। नायिका भने फाइनल गरिएको छैन। लभ स्टोरी कथामा बन्ने यो चलचित्रमा अनमोलको गेटअप परिवर्तन हुने वुझिएको छ।
कोभिडको जोखिम बढेको खण्डमा यसको निर्माणपक्षले छायांकन नयाँ बर्षबाट सुरु गर्न नसकिने बताएको छ। तर, कोभिडको जोखिम कम भएको खण्डमा वैशाखबाटै ‘पारस वा माइतीघर २’ मध्ये एक चलचित्रको छायांकन सुरु गर्ने योजनामा आफू रहेको भूवनले बताए।


























