चितवन, चैत्र १० । पूर्वी चितवनको खैरहनी–१० कठारमा सोमबार घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ। कृषि ज्ञान केन्द्र चितवन र खैरहनी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो। शिविरमा वडा नं ९, १० र ११ का किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्शसमेत दिइएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए।
परीक्षणका क्रममा भेडे खुर्सानी र अकबरे खुर्सानीमा ओइलाउने, फेद कुहिने रोग र भाइरस, गोलभेँडामा पछौटे डढुवा र गोलभेँडाको पात खन्ने कीरा (टुटा कीरा) तथा मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएको अर्यालले बताए। कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताए। रासस


























