चितवन, चैत्र ८ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन मर्यादित बनाउन माग गर्दै साधारण सदस्य राजेश घिमिरेले ध्यानाकर्षणपत्र बुझाएका छन्।
आइतबार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई बुझाइएको ध्यानाकर्षणपत्रमा विगतमा महासंघको निर्वाचनमा कतिपय अमर्यादित गतिविधि हुने गरेको स्मरण गराउँदै यसपालिको निर्वाचनमा ती गतिविधि नदोहोरियोस् भनी सचेत गराइएको छ।
तीन बुँदा समेटिएको ध्यानाकर्षणपत्रमा मतदान सुरु भएपछि पनि मतदाता थप्ने विगतको परिपाटी यो पटक अन्त्य होस् भनिएको छ। त्यस्तै एउटा पदमा उम्मेदवारी दिएर जुनसुकै समयमा फिर्ता लिन लगाउने र यसैलाई फेरि अन्य पदमा पनि मनोनयन गराउने विगतको परिपाटी यो पटक अन्त्य होस् भन्ने उल्लेख छ।
मतदान गोप्यरुपमा हुने परिपाटी विगतमा कायम हुन नसकेको भन्दै एकजनाले मतदान गर्दा अर्काले नजिकै उभिएर चेकजाँच गर्नेजस्ता हरकत यसपालि नदोहोरियोस् भनी सचेत गराइएको छ। “चितवनको निर्वाचनकोे विगत साधारण सदस्यको हैसियतमा आज मैले महासंघको चितवन शाखालाई यो ध्यानाकर्षण पत्र बुझाएको छु”, ध्यानकर्षणपत्रमा भनिएको छ, “यो कुनै पात्र र संगठनप्रति नभई प्रवृत्तिप्रति लक्षित छ।”
नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छनौटका लागि चैत २५ गते निर्वाचन हुँदैछ।



























