चितवन, चैत्र ८ । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरेको छ। आज (आइतबार) बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो।
अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्ष समेत हुन्। महासंघ चितवनकका वर्तमान अध्यक्षसंगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना विमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिम लगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसकेका छन्।
दुई दशकदेखि राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुखमा कार्यरत अधिकारी चितवनको पत्रकारितामा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन्। भरतपुर-११ निवासी अधिकारीले केही सञ्चारमाध्यममा सफल व्यवस्थापकीय जिम्मेवारीसमेत पूरा गरिसकेका छन्। हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादकलगायतका महत्त्वपूर्ण जिम्मेवारी निभाइसकेका छन्। युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उम्मेद्वार घोषणा गरिएको बताए।
पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्यालले श्रमजिवी पत्रकारहरुकाे हकहितमा अधिकारीले दुई दशकभन्दा बढी समय बिताइसकेकाेले चितवनका सबै पत्रकारलाई एक्यवद्ध बनाउन सक्ने बताए। युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीले पत्रकार महासंघ चितवनको नयाँ नेतृत्वमा अधिकारीलाई जिताउन आव्हान गरे।
चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जित सुनिश्चित रहेको बताए। महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाइ मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई साझा उम्मेदवार बनाइएकोमा खुसी व्यक्त गरे। युनियन चितवनका सल्लाहकार पूर्णप्रसाद शर्मा, फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार इश्वर जोशी, युनियनका पूर्व केन्द्रीय सदस्य शारदा पौडेलले नारायण अधिकारीलाई जिताउन चितवनका पत्रकार एकजुट हुन आव्हान गरे।
अधिकारी अध्यक्ष भएका बेला प्रेस युनियन चितवनले पत्रकारहरुका संघसंगठनकै पहिलो भवन बनाउने भूमिका निर्वाह गरेका थिए। भरतपुर ११ बसेनीस्थित गोरखालीटाेलमा समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको जग्गामा करिब ६० लाख रुपैयाँ सहयोग जुटाएर प्रेस युनियन चितवनको भवन बनाउने कामको अगुवाइसमेत गरेका थिए। प्रेस युनियन चितवनले जिल्लाका अन्य पत्रकार संगठनलाई नारायणप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने गरी सहकार्य गर्नसमेत आव्हान गरेको छ।



























