अर्घाखाँची, चैत्र ८ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ।
घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क-९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।
घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ। उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। जीपमा रहेका यात्रु सुरज खनालका अनुसार जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेका थिए। ६ जना यात्रुमध्ये तीन जनाले जीपबाट हाम फालेका थिए। उनीहरुको अवस्था भने सामान्य रहेको छ।


























