चितवन, चैत्र ७ । प्रेस चौतारी चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ।
प्रेस चौतारी चितवनले शनिबार आयोजित वृहत् जिल्ला भेलाबाट महासंघको जिल्ला अध्यक्षका लागि तिलक रिमाललाई अगाडि सारेको हो। सो भेलाले प्रेस चौतारी चितवनको ५१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गर्दै महासंघको निर्वाचनका लागि वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडाको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ। समितिको सदस्यमा नेपाल पत्रकार महासंघ चितवनका वर्तमान अध्यक्ष राधेश्याम खतिवडा र प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डित रहेका छन्।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री दावा दोर्जे लामाले पत्रकारहरु व्यवसायिक हुनुपर्ने बताए। पत्रकारहरुले सत्य, तथ्य विषयमा कलम चलाउँदै सरकारले गरेका राम्रा कामकोसमेत प्रचार प्रसार गरेर जनतालाई सुसुचित गराउनुपर्ने बताए। समाजको आँखाको रुपमा प्रेस रहेको भन्दै उनीहरु निश्पक्ष हुनुपर्नेमा लामाले जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले महासंघको आगामी निर्वाचनका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियन बाहेकका सबै संगठनहरुले सहकार्य गर्ने निर्णय गरिसकेकाले चौतारी र युनियन बीच सहकार्य हुने सम्भावना बढेको बताए। चितवनको महासंघमा प्रेस चौतारीको उपस्थिति बलियो भएको भन्दै गिरीले चौतारीले नेतृत्व गरेर अन्य पदमा सहकार्य गर्दै अगाडि बढ्न सकिने बताए। भेलामा प्रैस चौतारी नेपाल वाग्मती प्रदेश इन्चार्ज हिरा लामाले प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारहरुको हकहितका लागि सधैँ आवाज उठाउँदै आइरहेको बताए।
सो कार्यक्रममा प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अध्यक्ष सरद सापकोटाले वाग्तमी प्रदेशमा प्रेस चौतारी बलियो भएको उल्लेख गरे। प्रदेशका १० वटै जिल्लामा चौतारीले एक्लै उम्मेदवारी दिएमा पनि महासंघमा जित सुनिश्चित भएको भन्दै उहाँले प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए।
भेलाले प्रेस चौतारी नेपाल चितवनका संयोजक सुवाष पण्डितलाई अध्यक्ष र सहसंयोजक कृष्ण आचार्यलाई उपाध्यक्षको जिम्मेवारी समेत दिएको छ। जिल्ला भेलामा प्रेस चौतारीका नेता तथा कार्यकर्ता साथै नेकपा एमाले तथा भातृ संगठनहरु अनेरास्ववियुकालगायतका नेताहरुको सहभागिता रहेको थियो। वनभोज कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता थियो। नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा नयाँ नेतृत्वका लागि आगामी चैत २५ गते देशभर निर्वाचन हुँदैछ।


























