काठमाडौं, चैत्र ६ । विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी सञ्चालक समितिले सो प्रस्ताव बिहीबार पारित गरेको हो।
सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् सो सहायता प्रदान गर्न लागिएको विश्व बैंकले जनाएको छ।
‘यो आर्थिक सहायताबाट समान वितरण प्रणालीमार्फत नेपालको कम्तीमा एकतिहाइ जनसंख्यालाई खोप लगाउन सहजीकरण हुने अपेक्षा गरिएको छ’, विश्व बैंकले वासिङ्टनबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो महामारीले खासगरी खोप खरिद, आपूर्ति र वितरणमा भयानक चुनौती र अनिश्चित वातावरण सिर्जना गरेको हो’, नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका निर्देशक फरिस हदाद–जर्भोसले भनेका छन्, ‘कम्तीमा ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने नेपाल सरकारको महत्वाकांक्षी योजनालाई सहयोग गर्न यस बैंकले तत्काल चालेको यो कदले नेपाल र यस बैंकबीचको बलियो साझेदारीलाई पुष्टि गर्दछ।’
विश्व बैंक यसअघि पनि गत अप्रिल महिनामा कोभिड–१९ आपत्कालीन पहल तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत २ करोड ९० लाख डलर सहायता गरेको थियो।


























