चैत १ । अमेरिकाका राष्ट्रपति जो बाइडनले गत फेब्रुअरी महिनाको मध्यतिरबाट उत्तर कोरियासँग गोप्य रूपमा कूटनीतिक सम्पर्क बनाउन खोजेको भए पनि उसले वास्ता नगरेको बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।
प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा वृद्धि गर्दै जाँदा अमेरिकासँग तनाव बढ्ने स्थितिमा बाइडनले कसरी सम्हाल्ने हुन् भन्ने विषयमा यस घटनाक्रमले चासो बढाएको छ।
ती वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा यो कुरा बताएका हुन्। तर कूटनीतिक प्रयासका बारेमा खासै लामो कुरा उनले बताएनन्। किम जोङ उनको सरकारसँग सम्पर्क राख्नका लागि विभिन्न माध्यम प्रयोग गरेको चाहिँ उनले खुलाए।
‘अहिलेसम्म हामीले प्योङयाङबाट कुनै प्रतिक्रिया पाएका छैनौं,’ ती अधिकारीले बताए ।
संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाको मिसनले यस विषयमा टिप्पणी गरेन।
बाइडन प्रशासनले उत्तर कोरियाका विषयमा कस्तो दृष्टिकोण अपनाउने भनी सार्वजनिक रूपमा केही बताएका छैन। पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग निकट सम्पर्क कायम राखेकोमा बाइडन प्रशासनले त्यसको विस्तृत नीति समीक्षा गरिरहेको छ।
तर ट्रम्पले उत्तर कोरियालाई आणविक कार्यक्रम परित्याग गर्नका लागि विश्वस्त तुल्याउन सकेका थिएनन्। एजेन्सी


























