बुटवल, फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फेरि हिंसामा जाने कुरा नगरेको बताएका छन्। दलित पत्रकार संघको केन्द्रीय अधिवेशनलाई बुटवलमा उद्घाटन गर्दै प्रचण्डले आफूले हिंसामा जाने कुरा नगरेको प्रष्ट पारेका छन्।
फेरि एउटा क्रान्तिको पक्षमा आफू रहेको भएपनि अब हिंसाको बाटोबाट नभएर शान्ति र समाजका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको प्रचण्डले बताए। अब आफ्नो नेतृत्वमा शान्तिपूर्ण क्रान्ति एकपटक फेरि गर्ने उनले बताए।
देशमा पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रमले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भएको प्रचण्डले बताएका छन्। उनले नेकपाको एकीकरण विघटनको घटनाले पनि त्यसको पुष्टि हुने बताए।
प्रचण्डले भने, ‘जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ। यो कस्तो अनौठो घटना हो ? उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको प्रचण्डको निष्कर्ष छ।’
प्रचण्डले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने बताएका छन्। ‘महासचिव नै त भन्न सक्दिनँ। तर, अबको पार्टीको पुनर्गठनमा गुणात्मक रुपमा सहभागिता गराउने छु’, प्रचण्डले भने।


























