चितवन । कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’को तेस्रो संस्करण प्रकाशन हुने भएको छ। भुडीपुराण प्रकाशन प्रालिले गतवर्ष फागुन २६ गते प्रकाशन गरेको कथासंग्रहको तेस्रो संस्करण प्रकाशन गर्न लागेको प्रालिले बुधबार विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।
प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा पाठकको मागअनुसार कुमाता कथासंग्रहको तेस्रो संस्करण सार्वजनिक गर्न लागिएको जनाइएको छ। कुमाता यसअघि गत असारमा दोस्रो संस्करण प्रकाशन भएको थियो। कथासंग्रहको तेस्रो संस्करणको आवरण नयाँ डिजाइनमा छापिने छ। प्रकाशकका अनुसार नयाँ संस्करणमा अहिलेसम्म आएका समीक्षालाई समेत समेटिने छन्।
चितवन साहित्य परिषदको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार’, राउण्ड टेवुल गसिफ हेटौंडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको श्रष्टा सम्मानजस्ता सम्मान प्राप्त कृतिले छोटो समयमै पाठकको मन जित्न सफल भएको लेखक एवम् पत्रकार पराजुलीले बताए।
कुमाता कथासंग्रह प्रकाशनको एकवर्ष पूरा भएको अवसरमा बुधबार नारायणगढमा पुस्तकमाथि अन्तक्र्रिया गरियो। सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले नारी संवेदनामा आधारित कथा संग्रह उत्कृष्ट रहेको औँल्याए। ‘कथा युग सुहाउँदो र समय सापेक्ष छ, त्यसैले पाठकको मन सजिलै तान्न सफल भएको छ’, अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डितले भने।
सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले संयोजन गरेको कार्यक्रममा चितवन साहित्य परिषदका सहसचिव शान्ति शर्माले पनि आफ्नो धारणा राखेकी थिइन्। सोही अवसरमा कविद्वय रामबाबु दाहाल र शिवनारायण पण्डित ‘सिङ्गल’ले कविता वाचन गरेका थिए।
























