अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका, उच्च क्यालोरीयुक्त, धेरै पहिले तयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन, चीनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तुसमेत मिसाएर स्वादिष्ट बनाइएका, नपकाइकन पनि खान मिल्ने गरी तयार गरिएका खानेकुराहरूलाई चलन चिल्तीको भाषामा मृत खाना वा जंङ्कफूड भनेर भन्ने गरिन्छ। यी खानेकुराहरूको सेवन गर्दै गएपछि मान्छेलाई जाँड, रक्सी वा चुरोटको लत बसे जसरी लत बस्दछ र लामो समयसम्म सेवन गर्दै गएपश्चात अनेकौं स्वास्थ्य समस्याहरू देखा पर्न थाल्दछ।
- स्वास्थ्यमा असरः
१. तौल बढ्नेः विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको मोटोपनको मुख्य कारणको रूपमा जङ्कफूडलाई लिएको छ। कम पौष्टिक तत्व, असन्तुलित पोषक तत्व, उच्च क्यालोरी, पटक–पटक प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य वस्तुको समेत मिलावट गरिएको हुँदा यी खानेकुराको सेवानले तौल बढ्ने, भुँडी लाग्ने र मोटाेपना बढाउने समस्या जन्मिन्छ। जङ्कफूडलाई लामो समयसम्म पनि संरक्षित गरेर राख्न सकिने र स्वादमा अत्यन्तै स्वादिलो बनाइएको हुँदा र सजिलै एवं सस्तो मूल्यमा पाइने भएकाले धेरैले यसलाई मन पराउँछन् र अन्तत्वगत्वा जङ्कफूडको कुलतमा फस्दछन्।
कम पौष्टिक तत्व एवं असन्तुलित पोषक तत्व भएको तर अति उच्च मात्रामा नुन, चीनी र चिल्लो हालिएको हुँदा, खाली क्यालोरीका कारणले जङ्कफूड खाँदा तौल ह्वातै बढ्दछ। यसको आलवा जङ्कफूडको सेवनले ‘मेटमबोलिक’ क्रियालाई समेत सुस्त बनाइदिने हुँदा तौल बढ्दछ। यसैगरी जङ्कफूडमा मिसाइएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हारमोनहरूको बीचमा तालमेल बिगारिदिने हुँदा धेरै भोक लाग्ने र असन्तुष्टि बढिरहन्छ। फलतः तौल बढ्ने र मोटाउने भइरहन्छ।
२. मुटु रोगः जङ्कफूडको सेवनले मुटु तथा रक्तनलीसम्बन्धी रोग लाग्दछ भन्ने तथ्य धेरैलाई थहा भइसकेको छ। जङ्कफूड खाएर मुटुरोग लाग्नुको मुख्यकारण जङ्कफूडमा प्रशस्त मात्रामा नुन वा चीनी र चिल्लो हालिनु, खाद्यरेशा नहुनु, भिटामिन र ‘एण्टीअक्सीडेण्ट’ कम हुनु वा नहुनु, अन्य अखाद्य वस्तुहरूको पनि मिलावट गरिनु आदि पर्दछन्। उच्च मात्रामा भएको कार्बोहाईड्रेट्स् अथवा चिनी छिटो-छिटो पचेर पाचनपश्चात ग्लुकोज बन्दछ र रक्तग्लुकोज बढाउँदछ। यसैगरी उच्च मात्रामा भएको चिल्लो पदार्थले रक्त कोलेस्टेरोलको मात्रा बढाउँदछ भने उच्च मात्रामा नुन वा सोडियम प्रयोग गर्नाले रक्तचाप बढ्दछ।
यसैगरी खानेकुरामा खाद्यरेशा, भिटामीन र एण्टिअक्सिडेण्ट नहुँदा पनि रक्तनली सुन्निने र साँगुरिने गर्दछ। यो क्रिया मुटुका रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भनेर भन्दछौं। जङ्कफूडमा उच्च मात्रामा हालिएको नुन, चिनी र चिल्लोले तौल बढाउने, रक्त कोलेस्टेरोलको मात्रा बढाउने, रक्तनलीहरूको ईफ्लामेशन गराउने, खाएपश्चात तनाव, चिन्ता, भय र उदासिनता बढ्ने, मधुमेह र उच्च रक्तचाप गराउनेजस्ता मुटुरोगका जोखिम कारक तत्वहरूलाई बढाउने हुँदा मुटुरोगको खतरालाई बढाउँदछ।
३.मधुमेहः जङ्कफूडको दीर्घकालीन सेवन गर्नेहरूलाई मधुमेहले पनि आफ्नो बनाउँदछ। यसो हुनुको मुख्य कारण जङ्कफूडलाई प्रशोधन गर्दा गर्दा त्यसलाई सजिलै पच्न सक्ने बनाइएको हुन्छ र यी खानेकुरा खाएपश्चात तत्काल पच्ने र रक्त ग्लुकोज ह्वात्तै बढाउने गर्दछ। तर रक्त ग्लुकोज बढ्ने बित्तिकै हाम्रो प्यान्क्रियाजले पनि ईन्सुलिन स्राव गरी बढेको रक्त ग्लुकोजलाई नियन्त्रण्मा लिइहाल्दछ। तर पटक–पटक रक्तग्लुकोज ह्वात्त–ह्वात्त बढिरहेमा ईन्सुलिन प्रतिरोधकता विकसित भई टायप–२ मधुमेहको समस्या देखा पर्दछ। यसका आलावा जंङ्कफूडमा कुनै पनि प्रकारका रेशा र चोकरहरू राखिएको हुँदैन जसका कारणले पनि मधुमेहको खतरा बढ्दछ।
४. चायाँ-पोतो र डण्डिफोर आउनेः जङ्कफूडमा उच्च मात्रामा प्रशोधित कार्बोहाईड्रेट्स् हुने भएकाले चायाँ-पोतो र डण्डीफोरजस्ता सौन्दर्यात्मक समस्याहरू पनि हुने गर्दछ। त्यसमा पनि उच्च ग्लाईसेमीक ईन्डेक्स भएका जङ्कफूडहरू जस्तै चकलेट, मिठाई, लड्डु, सनपापडी आदिको सेवनल तुरून्तै रक्त ग्लुकोज र रक्त ईन्सुलिन बढाईदिने कारणले एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाँया, पोतो र डण्डिफोरको समस्या जन्माउँछ। यसैगरी उच्च मात्रामा जङ्कफूडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्दछ। एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।
५.क्यान्सरः जङ्कफूडको सेवनले तौल बढ्दछ र तौल बढ्नु क्यान्सरको जोखिम कारक तत्व हो। यसैगरी जङ्कफूडको सेवनले शरीरमा ईन्फ्लामेसनलाई बढाई दिने हुँदा क्यान्सरको जोखिम बढ्दछ। विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाएअनुसार जङ्कफूडको सेवनले ठूलो आन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यान्सर, फोक्सोको क्यान्सर, मुख, नाक, जिब्रो, घाँटी, स्वरयन्त्र, आमशयको क्यान्सर हुन सक्ने सम्भावना प्रवल रहन्छ। यसैगरी डिम्वाशय र पाठेघरको क्यान्सरसँग पनि जङ्कफूड जोडिएको छ। यसैगरी हामीले खाने तारेभुटेका खानेकुराहरू, सेकुवा, भुटुवा, तरूवा, हटडग, बन, डोनट कार्बोनेटेड–सफ्ट–ड्रिङ्क आदिको कारणले पनि क्यान्सर लाग्न सक्छ।
६. नैराश्यताः जङ्कफूड सेवन नैराश्यताबीच गहिरो सम्बन्ध छ। स्वस्थकर प्राकृतिक खानेकुराहरूलाई राम्रो मुड फ्रेसनरका रूपमा लिइन्छ, जबकी जंङ्गफूडलाई मानसिक उत्तेजकको रूपमा बुझिने गरिएको छ। खानेकुरालाई जङ्क बनाउँदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुँदा यिनका प्राकृतिक गुणधर्म नष्ट हुनुका साथै भोजनलाई स्वादिष्ट बनाउनका लागि प्रर्याप्त मात्रामा नुन, चिनी, चिल्लो, कृत्रिम रङ्ग, अजिनोमोटोजस्ता रसायनहरू हालिएको हुन्छ। यति धेरै रसायनहरू हालेर खाँदा त्यस्ता खानेकुरा खाने लत बस्दछ।
यसैगरी यी खानेकुरा खाएपश्चात हाम्रो मस्तिष्क लगातार उत्तेजित भइरहने हुँदा तनाव, चिन्ता, भय हुँदै बिस्तारै मान्छे नैराश्यताको शिकार हुन पुग्दछ। यसो हुनुको वास्तविक कारण चाहिँ, रक्त ग्लुकोजको निरन्तर घटबढ, न्यूरोट्रान्समीटरहरूको अनियन्त्रण र जङ्कफूडमा भएका हानिकारक तत्वहरूले शरीरका विभिन्न भागमा गर्ने ईन्फ्लामेसन आदिलाई मानिएको छ।
७. छाला चाउरी पर्नेेः जङ्कफूडको रूपमा उच्चमात्रामा नुन, चिनी र चिल्लो हालिएको खानेकुरा खाँदा शरीरमा चिनी र प्रोटीनबीच प्रतिक्रिया भएर एडभान्स ग्लाइकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्दछ। यो एडभान्स ग्लाइकेसन एण्ड प्रोडक्टहरूले छालाको कोल्याजन र ईलास्टिनलाई क्षति पुर्याउने हुँदा छाला चाउरी पर्ने र चाँडै बूढो देखिने हुन्छ। कोल्याजन र ईलास्टिनले छालाको तान, वर्ण, चमक आदि बरकरार राख्न मद्यत गर्दछ।
८.असामयिक बुढ्यौलीः जङ्कफूडको सेवनले असामयिक बुढ्यौलीलाई पनि निम्त्याउने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाइसकेका छन्। जङ्कफूडमा उच्च मात्रामा हालिएका नुन, चिनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सिमावर्ती ढक्कनलाई छोट्याउने गर्दछ। टेलोमेयरको मूख्य काम भनेको क्रमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसँग प्रतिक्रिया गर्न नदिएर जीनहरूको रक्षा गर्नु हो। यदि टेलोमेयर छोटिँदै गयो भने हाम्रो शरीरका कोषहरू बूढो हुँदै जाने र असामयिक बुढ्यौली सुरू हुने गर्दछ।
९. शक्तिहीनताः जङ्कफूडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ती आए पनि कालान्तरमा शक्तिहीनता देखा पर्दछ। यसो हुनुको मुख्य कारण जङ्कफूडको सेवनपश्चात रक्त ग्लुकोज र ईन्सुलिनको मात्रा ह्वात्त बढ्ने र तुरून्तै कम भइहाल्ने हुन्छ। यसरी पटक-पटक रक्त ग्लुकोज बढ्ने र कम हुने गर्दा उर्जाहीनताको अनुभव हुन्छ।
१०. कलेजोमा बोसो जम्नेः जङ्कफूडमा हालिएको प्रशोधित कार्बोहाईड्रेट्सको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टी लिवर भन्ने समस्यालाई जन्म दिन्छ। प्रशोधित कार्बोहाईड्रेटस त्यसमा पनि उच्च फ्रूक्टोज भएका खानेकुराहरूः जस्तै चिनी, कर्न–सिरप, राइस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रूक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ फलतः कलेजोमा बोसो लाग्दछ।
११. मृगौलालाई क्षतिः लामो समयसम्म जंङ्कफूडको सेवन गर्दा मृगौलाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दछ। यसो हुनुको मुख्य कारण जङ्कफूडमा उच्च मात्रामा हालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायनहरू नै हुन्। उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मृगौलाका सुक्ष्म रक्तनलीहरूलाई क्षति पुर्याउने हुँदा मृगौला क्षतिग्रस्त हुन सक्छ।
१२. श्वास–प्रश्वासमा समस्याः जङ्कफूडको सेवनले विशेषतः तौल बढाउने काम गर्दछ र धरै तौल बढ्दै गएमा मोटोपन यानिकि ओबेसिटीले सताउँदछ। माटोपनकाे समस्याले ग्रस्त बिरामीहरूलाई दम बढ्ने र श्वास फुल्ने समस्याले सताउँदछ। जङ्कफूडको सेवनले दम जन्माएको विशेषतः केटाकेटीमा ज्यादा देख्न सकिन्छ।
१३. दाँत र हड्डीमा असरः जंङ्कफूडको सेवन गर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादा पिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको ईनामेल खुइल्याई दिने गर्दछ। दाँतको ईनामेल खुइलिईसकेपछि त्यस ठाँउमा ब्याक्टेरियाहरूको संक्रमण भई दाँतमा क्याभिटी बन्ने, किरा लाग्नेजस्ता समस्या देखा पर्दछ। यसैगरी जंङ्कफूडमा भएको प्रशोधित कार्बोहाईड्रेट्स दाँत, गिजा र मुखमा टाँसिएर ब्याक्टेरियालाई आकर्षित गरेर दाँतलाई संक्रमित बनाउँदछन्। यसैगरी लामो समयसम्म जङ्कफूडको सेवन गर्ने गरे हड्डीको अश्थी घनत्व कम हुने, हड्डी खिइने आदि जस्ता समस्या देखा पर्दछन्।
१४.उच्च रक्तचापः जङ्कफूडको सेवन गर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउँदछ। यसो हुुनुको मुख्य कारण जङ्कफूडमा हालिएको अत्याधिक नुन हो। शरीरमा नुन वा सोडियमको मात्रा चाहिनेभन्दा धेरै भए सोडियमले पिसाबबाट उत्सर्जित भएर जाने पानीलाई समेत पुन शरीरमा खर्चिएर रगतको आयतन बाढाई रक्तचाप बढाउँदछ। यसैगरी जङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लोले पनि रक्तचिल्लोको गडबडी गराई नशालाई साघुर्याई दिने हुँदा रक्तचाप बढाउँदछ। यसैगरी जंङ्कफूडमा हालिएका धेरै अखाद्य पदार्थहरूले रक्तनलीको भित्रीपत्रको ईन्फ्लामेसन गराउने हुँदा यसले पनि रक्तचाप बढाउन मद्यत गर्दछ।
१५.रक्तचिल्लोको गडबडीः जङ्कफूडको सेवनले व्यापकरूपमा रक्तचिल्लोको गडबडी गराउँदछ। यसो हुनुको मुख्य कारण जंङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लो हो। उच्च चिल्लोले शरीरमा कोलेस्टेरोल र ट्राईग्लिसिराईडको मात्रा बढ्दछ। यसैगरी जङ्कफूडमा हालिने ट्रान्स फ्याटले पनि राम्रो कोलेस्टेरोल एचडीएलको रक्तमात्रा कम गर्ने र नराम्रो कोलेस्टेरोल एलडीएललाई बढाउने काम गर्दछ। यसैगरी जङ्कफूडमा हालिएको उच्च चिल्लोले फ्याट्टी लिवर गराउने हुँदा यसले पनि रक्तचिल्लोको गडबडी गराउनमा मद्यत गर्दछ।
- लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालाय भरतपुर–१ वागीश्वरी चितवनका मेडिकल डाइरेक्टर हुन्।
Facebook Comments


























