चितवन । केही दिनअघि मात्रै मूल धारको राजनीतिमा फर्किएका नेत्रविक्रम चन्द ‘विप्लव’ कारागारमा रहेका आफ्ना कार्यकर्ता भेट्न चितवन आइपुगेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विप्लव नेतृत्वकाे नेकपा माओवादीलाई हिंसात्मक गतिविधिमा संलग्न रहेकाे भन्दै २०७५ साल फागुन २८ गतेदेखि प्रतिबन्ध गरेकाे थियाे। त्यसयता भूमिगत भएका नेकपाका महासचिव विप्लवलाई सरकारले प्रतिबन्ध फुकुवा गरेपछि गत शुक्रबार मात्रै सार्वजनिक भएका हुन्।
सरकारले प्रतिबन्धमा राखेपछि विप्लव नेतृत्वकाे माओवादीका सयाैँ कार्यकर्ता सरकारकाे नियन्त्रणमा थिए। साेहीअनुसार चितवनमा पनि ३० जना विरुद्ध मुद्धा दर्ता भएकाे थियाे भने ११ जना फरार रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। भरतपुर कारागारमा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ पनि थिए। २०७७ असाेजदेखि भरतपुर कारागारमा रहेका उनलाई भेट्न भाइ विप्लव चितवन आइपुगेका हुन्।
देशभरका विभिन्न कारागारमा रहेका आफ्ना कार्यकर्तालाई छुटाउने सर्तमा सरकारसँग वार्ता गर्न सकारात्मक भएका विप्लव अहिले देशका विभिन्न स्थानमा बन्दी बनाइएका आफ्ना कार्यकर्ता छुटाउन र भेटघाट गर्न सार्वजनिक रुपमा देश दाैडाहामा लागेका छन्। भरतपुर कारागारमा आफ्ना दाइ र कार्यकर्तासँग भेटघाट गरिसकेपछि चितवनका पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता विप्लवले कारागारबाट छुटेका आफ्ना कार्यकर्ताले सरकारसँगकाे वार्तालाई स्वीकार गरेकाे बताए।


























