काठमाडौँ, फागुन २३ । सर्वोच्चको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।
सोही अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी हुन्। संसद बैठक दिउँसो ४ बजे बस्ने तयारी छ। बैठकका लागि सबै तयारी लगभग पूरा भएको संसद सचिवालयले जनाएको छ।
आफैले विघटन गरेको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव सामना गर्नु पर्ने देखिएको छ। सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा राजीनामा दिनका लागि दाबाब आए पनि प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताउँदै आएका छन्।
उनी विश्वासको मत नलिने तर अविश्वासको प्रस्ताव आएमा सामना गर्ने रणनीतिमा रहेको बताइन्छ। तर शनिबार बोलाइएको आफू पक्षीय (नेकपा ओली खेमा) संसदीय दलको बैठकमा अपेक्षा अनुरुप सांसदहरु उपस्थित नभएपछि प्रधानमन्त्री ओलीको मनोबल केही कमजोर भएको स्रोतले बताएको छ।
संसद विघटनपछि धरापमा रहेको नेकपाको स्पष्ट रुपमा दुई भागमा विभाजित भएको थियो। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमा संसदको यो अधिवेशन मार्फत ओलीलाई सत्ताबाट हटाउने रणनीतिमा छ।
ओली पनि आफू सत्तामा टिकिरहन प्रयासरत छन्। त्यसका लागि दुवै तर्फबाट सर्वोच्चको फैसलापछि लगातार छलफल हुँदै आएका छन्। तर अबको सत्ता समिकरणमा केन्द्रीय भूमिकामा देखिएको नेपाली कांग्रेसले अहिलेसम्म स्पष्ट कुनै धार समातेको छैन।
कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष सत्तामा जाने पक्षमा देखिएको छ भने नेता रामचन्द्र पौडेल पक्ष अहिले सत्तामा जान नहुने बताउँदै आएको छ। तर देउवाले हालै आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।
नेकपाको दाहाल–नेपाल खेमाले सत्ता समिकरणमा सहयोगका लागि देउवालाई भेटेर प्रस्ताव गरेका छन्। यस्तै उनीहरुले जनता समाजवादी पार्टीसँग पनि छलफल गरिरहेको छन्। ओली खेमाले पनि सम्भावित रणनीतिमा विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ।


























