कावासोती, फागुन २० । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन्। तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो। बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए। घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ।
प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बए। पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उनले जानकारी दिए। रासस


























