काठमाडौं, फागुन २० । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन्। सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ। यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो। पछिल्लो केहि दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ। बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ। दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन्।
कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ। केहि दिन यता बजार घट्दा समेत बढ्दै आएको व्यापार समूहको सबइन्डेक्स बिहीबार पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ। यो नै बिहीबारको सबैभन्दा धेरै बढ्ने समूह हो।
त्यसपछि अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५ दशमलव ४४ प्रतिशतले, लगानी समूह ५ दशमव २६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ४ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा जीवन बिमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ।


























