चितवन १७ फागुन । चितवनमा पहिलोपटक मगर संस्कृतिमा आधारित रहेर निर्माण भएको चलचित्र ‘मिह्री’काे प्रिमियर शाे भएको छ। भरतपुरको सिजी ल्याण्डमार्कमा साेमबार प्रिमियर शाे भएकाे हाे। मिह्री मगर भाषाकाे शब्द हाे, जसकाे नेपाली अर्थ भाग्य भन्ने हुन्छ। गतवर्ष नै निर्माण सम्पन्न भइसकेको चलचित्र काेराेना भाइरस संक्रमणकाे जाेखिमका कारण देश नै लकडाउनमा गएपछि प्रदर्शनकाे तयारीमा रहेर पनि राेकिएकाे थियाे। तर अहिले वातावरण थप सहज भएपछि प्रदर्शन गरिएकाे चलचित्र निर्माण पक्षले जनाएकाे छ।

रमेश रानामगरकाे लेखन तथा निर्देशनमा बनेकाे चलचित्रमा अमृता थापा रानामगर, देवेन्द्र रानामगर, तुलमान गुरुङ र प्रेमकुमारी आलेमगरले संयुक्तरुपमा लगानी गरेका छन्। रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, स्रष्टी थापामगर, प्रेमकुमारी आलेमगर, भीमबहादुर थापामगर, मिलन थापामगर, बलबिक्रम थापामगर, देवी थापामगरलगायतका कलाकारले अभिनय गरेका छन् भने घना गुरुङले छायांकन तथा सम्पादन गरेका छन्।

निर्माण टिमका अनुसार उक्त चलचित्रलाई चितवन जिल्लाभित्र रहेका मगर गुठीहरुमा देखाइनेछ। जिल्ला बाहिर पनि मगर समुदायकाे बाहुल्यता रहेका स्थानहरुमा प्रदर्शन गरिनेछ। चितवनबाट पहिलाेपटक निर्माण भएकाेले अधिकांश कलाकार चितवन जिल्लाकै छन्। चितवन जिल्लाबाट गरेकाे पहिलाे प्रयास सफल भएकाे चलचित्रका लेखक तथा निर्देशक रमेश रानामगरले बताए।


























