काठमाडौं, फागुन १३ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ।
सत्तारुढ पार्टीभित्र विवाद बढेर औपचारिक विभाजनको अवस्थामा पुगेका बेला सर्वोच्चले उक्त नामलाई वैधानिकता दिने कि नदिने भन्ने निर्णय सुनाउन लागेको हो। यदि आयोगले (नेकपा) लेख्ने गरी आयोगले गरेको निर्णय बदर गरेमा विभाजनको डिलमा पुगेको नेकपालाई थप सजिलो हुनेछ। त्यस्तो स्थितमा तत्कालिन एमाले र माओवादी केन्द्र पुनर्जिवित हुनेछ।
निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा आयोगले बलजफ्ती उक्त नाममै एकीकृत पार्टीको नाम दिएको थियो।
उक्त निर्णयविरुद्ध बदर गर्न माग गर्दै कट्टलले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाई गर्दै बिहीबार न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गतेका लागि निर्णय सुनाउने मिति तोकेको हो।
कट्टेल अध्यक्ष भइ आयोगमा २०७० साउन १२ गते नै आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको राजनीतिक दर्ता भएको थियो। आयोगले एमाले र माओवादी मिलेर बनेको दललाई पनि नेपाल कम्युनिष्ट पार्टी नाम दिएर छोटकरीमा लेख्दा मात्रै शब्दबीच ठाउँ छाडेर (नेकपा) लेख्ने गरी दल एकीकरणको प्रमाणपत्र २०७५ जेठ २३ गते दिएको थियो।
त्यस बेला आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना अध्यक्ष रहने गरी निर्णय गरेको थियो। अहिले ओली दाहाल विभाजित अवस्थामा पुगेका छन्।
तर व्यवहारिक रुपमा भने कसैले पनि आयोगले भनेअनुसार ठाउँ नछोडी कट्टेल नेतृत्वकै पार्टीले लेखेको (नेकपा) लेख्दै आएका छन्। दुई दलले आयोगमा निवेदन दिँदा भने नेपाल कम्युनिष्ट पार्टी हुनुपर्ने दाबी प्रस्तुत गरेका थियो। आयोगले त्यसलाई सच्याएर छोटकरीमा लेख्दा दुई शब्दबीच खाली ठाउँ छाडे हुने गरी प्रमाणपत्र दिएको थियो।
ऋषि कट्टेलको समूहले छोटकरीमा आफ्नो पार्टीलाई पनि ‘नेकपा’ नै भन्नु पर्ने भएकाले उक्त पार्टीको नामसँग आफनो पार्टीको नाम मिल्दा समस्या भएको भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित आयोगमा उजुरी दर्ता गरेको थियो।
तर ओली—दाहाल समूहले आफ्नो पार्टीको नामसँग ऋषि कट्टेलको समूहको पार्टीसँग नाम नमिल्ने भन्दै त्यसलाई सच्याउनु पर्ने जरुरी नरहेको निर्णय दिएपछि उनी त्यसका विरुद्ध सर्वोच्च पुगेका थिए।


























