काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको छ। छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि सो समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले अन्य राजनीतिक दलसँग परामर्श गरिरहेका छन्। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रचण्ड र नेपालले आज जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र श्रेष्ठसँग छलफल गरेका हुन्।
छलफलमा प्रचण्ड र नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बनाउनका लागि सहकार्य गर्न प्रस्ताव गरेका छन्। तर, जसपाले त्यसमा सहमति भने जनाइसकेको छैन। “वर्तमान परिस्थितिका बारेमा छलफल भयो। संसद् पुनःस्थापनापछिको परिस्थितिमा कसरी अघि बढ्ने? भन्नेबारे कुरा भयो। संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुबीच एक भएर जानुपर्छ भने,” जसपा नेता श्रेष्ठले भने, “हामीले त्यसमा भएका समस्याहरु के–के छन्, सबै हेरौँ। तपाईंहरुको औपचारिक प्रस्ताव प्राप्त भयो। हामी पार्टीमा छलफल गरेर जवाफ दिन्छौँ भन्यौँ।”
अबको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरको बनाउने भने पनि कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको श्रेष्ठले बताए। जसपाले संविधान संशोधन र थुनामा रहेका रेशम चौधरी रिहाइको माग गर्दै आएको छ।


























