काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको पक्षमा रहेका नेता वामदेव गौतमले बिहीबार बिहान नेकपाको प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
प्रचण्डलाई भेट्न गौतम उनको निजी निवास खुमलटार पुगेका थिए। प्रचण्डलाई भेटेर गौतमले पार्टी एकताको लागि पहलकदमी बढाउन आग्रह गरेका उनी निकट स्रोतले जानकारी दियो।
अदालतले संसद विघटन बदर गरिसके पछिको अवस्थामा नयाँ प्रकारले कसरी जान सकिन्छ भनेर पार्टी भित्रै छलफल चलाउनुपर्नेमा गौतमले जोड दिएका जनाइएको छ।
‘सरकार बनाउन कांग्रेससँग किन हात जोडिरहनु पर्यो। आफ्नै पार्टीको दुई तिहाइ नजिक बहुमत छ। छलफल गरेर समस्या समाधानतिर लाग्नुपर्छ,’ प्रचण्डसँग गौतमले गरेको आग्रहलाई उद्धृत गर्दै स्रोतले भन्यो।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र त्यसका लागि पार्टी भित्रै छलफल गरेर ओलीलाई दबाब दिनुपर्ने गौतमको भनाइ छ।
गौतमको प्रस्तावमा प्रचण्डले भने खासै कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ। प्रचण्डले आफू पनि पार्टी एकताकै पक्षमा रहेको, तर ओलीले नै विभाजनको बिऊ रोपेको बताएका स्रोतले जानकारी दियो।
‘पार्टी एक हुँदै हुँदैन भन्ने होइन। एकता हुनुपर्छ भन्ने पक्षमा म पनि हो। तर, ओलीजीले जे भन्यो त्यहि मानेर, उहाँका हरेक गलत कदमलाई साथ दिएर त पार्टी एक हुँदैन,’ प्रचण्डले गौतमलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० २ खेमामा विभाजित भएको छ।
एउटा खेमाको नेतृत्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन्। नेता गौतम भने पार्टी एकताको पक्षमा उभिएका छन्।
संसद विघटनको निणर्य सर्वोच्चले बदर गरिदिएपछि नेता गौतम पार्टी एकता बचाउन भन्दै दौडधुपमा छन्। नेता गौतमले बुधबार नै एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।


























