काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री ओली निवाश बालुवाटारमा आज दिउसो बसेको स्थायी समिति बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थाका बारेमा छलफल भएको छ।
बैठकपछि परराष्ट्रमन्त्री एवं आली समूहका नेता प्रदिप ज्ञवालीले भोलि पनि बैठक जारी रहने जानकारी दिए। आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने उनले बताए ।
‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’ नेता ज्ञवालीले भने
सर्वोच्चको आदेशबमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। नेता ज्ञवालीले भने-‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।’
आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलााउने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि अब के गर्ने भन्नेबारे सामूहिक निर्णय गर्न ओली समूहले बैठक बोलाएको थियो।


























