काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए। फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सहभागी हुन समेत आह्वान गरिएको छ। सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो।
नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं! सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे। केन्द्रीय संघर्ष समिति, नेकपा।’


























