चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन। कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो। यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम हुनसकेन। अहिले भवन निर्माणको काम सकेर यान्त्रिक उपकरण जडानको काम भइरहेको छ।
बाढिपहिरो, भूकम्प, नाकाबन्दी, ठेकदार कम्पनीको ढिलासुस्तीलगायतका कारणले निर्माणमा ढिलाइ भएको चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले बताए। पछिल्लो समय कोरोनाका कारण एक वर्ष काम हुन नसकेको उनले बताए।
आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको पौडेलले जानकारी दिए। भवन निर्माणसम्बन्धी काम एक वर्षअघि नै सकिएको उनले बताए। उनले भने,“शीत भण्डारमा हाल मेसिनरी सामान जडानको काम भइरहेको छ।” २०७७ चैतमा मेसिनरी जडानको काम सक्ने गरी २०७६ असार २३ मा ठेक्का सम्झौता गरिएको थियो। मेसिनरीको काम ठेकेदारले समयमा सक्ने सङ्केत देखिएको पौडेलले बताए।
तर, ट्रान्सफर्मरका कारण सञ्चालनमा ढिला हुनसक्ने उनको भनाइ छ। ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर अनुदानमा उपलब्ध गराउन माग गरिएको जनाउँदै पौडेलले चैतसम्ममा ट्रान्सफर्मर आएमा आगामी असोजमा सञ्चालन गर्न सकिने बताए।
“चैतसम्ममा मेसिनरीको काम सकियो र ट्रान्सफर्मर पनि आयो भने वैशाखमा सबै सेटिङ मिलाएर जेठमा हामीले परीक्षण गर्छौ”, उनले भने,“परीक्षण सफल भएमा असारबाटै सञ्चालनमा ल्याइन्छ। नभए असोजमा पक्का सञ्चालन गर्छौं।” कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममासमेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण यो उपयोगी रहेको पौडेलले बताए।
यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी अफ सिजनमा बिक्री गर्ने छ। परियोजनाले अतिरिक्त आम्दानीको लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्री वितरण गर्ने छ। करीब रु १५ करोडको लगानीमा निर्माण भइरहेको सो भण्डारको क्षमता करीब दुई हजार ५०० मेट्रिक टन रहने छ। लिफ्टसहित शीत भण्डार पाँच तले हुनेछ। सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिन्छ। शीत भण्डार रहने भवन अघिको प्रशासनिक काम हुने भवनको अण्डर ग्राउण्डमा मासुजन्य पदार्थ भण्डार गर्ने सोच भए पनि त्यसबारे ठोस् निर्णय भइनसकेको पौडेलले जानकारी दिए।
उक्त स्थानको क्षमता करीब तीन सय टन छ। चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो। सार्वजनिक निजी सझेदारी अन्तर्गत निर्माण गर्ने गरी सरकार र सहकारी तथा किसानले संयुक्त लगानी गरेका हुन्।
शेयर, पूँजी समयमा जुटाउन नसक्नु नै निर्माण कार्यमा ढिलाइ हुनुको प्रमुख कारण भएको अध्यक्ष पौडेलले बताए। “समयमा पूँजी जुटाएर सिभिलको काम सकि मेसिनरीको काम थाल्न पाएको भए छिटो हुन्थ्यो। तर, न सरकारी तवरबाट छिटो बजेट आयो न सहकारीबाट छिटो पूँजी सङ्कलन गर्न सकियो।”
मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना शुरु गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत छ। सार्वजनिक निजी सझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीत भण्डारको सिभिल सम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ।
मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत हुनेछ। सहकारीले ऋण लिएर लगानी गरेको हुँदा उक्त ऋणको ब्याजले गर्दा लगानी अझै बढ्नसक्ने सङ्केत देखिएको पौडेलले बताए। शीत भण्डारमा चितवनका ४४ सहकारीको लगानी छ। रासस


























