फागुन ९ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन्। अस्ट्रेलियामा सोमबारदेखि खोप अभियान सुरु हुँदैछ।
आम सर्वसाधारणमा खोपप्रतिको विश्वास दिलाउन प्रधानमन्त्री मोरिसनले खोप लगाएको तस्वीर टेलिभिजनमार्फत प्रसारण गरिएको थियो। आगामी हप्तासम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ। खोप अभियान सुरु गर्ने लाग्दा शनिबार केही मानिसहरुले त्यसको विरोधमा प्रदर्शनसमेत गरेका थिए।
प्रधानमन्त्री मोरिसनले आइतबार एउटा सानो समूहको साथमा खोप लगाएका हुन्। त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ।
अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ। फाइजरको उक्त खोपलाई अनुमति प्राप्त भइसकेको छ। अस्ट्रेलियामा सबैभन्दा पहिला एक ८५ वर्षीया महिलाले खोप लगाएकी थिइन्। एजेन्सी


























