काठमाडौं, फागुन ९ । नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको संख्या घट्दै गएको पाइएको छ। तालतलैया तथा सिमसार क्षेत्रवरपर विकास निर्माण हुने र मनोरञ्जनस्थल बन्ने क्रमले चराहरुमा असर पर्दा संख्या घट्दै गएको विज्ञहरुले बताएका छन्।
हालै नेपालका १४ वटा ठाउँमा गरिएको जलपन्छीको गणनाले यस्तो देखाएको हो। उक्त गणनाको पुरै परिणाम प्राप्त भइनसके पनि पानीमा आश्रित चरा तथा जलपन्छीको संख्या भने घटेको पाइएको चराविज्ञ हेमसागर बरालले बताए।
नेपालमा करिब ८ सय ८७ प्रजातिका चराहरु पाइनेमा तीमध्ये नौ प्रजातिका चरा लाप भएको पाइएको छ। यस्तै, १ सय ६८ प्रजातिका चरा संकटापन्न अवस्थामा रहेको चराविज्ञ बरालले जानकारी दिए।
नेपालमा पाइएका कुल चरामध्ये २ सय प्रजातिका पानीमा आश्रित छन् भने १ सय २० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा छन्। नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन्। कर्याङ्कुरुङजस्ता कतिपय पन्छी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ।
काठमाडौँको टौदह, बागमती र मनोहरा नदी तथा चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरुमा स्वयंसेवक परिचालन गरेर गणना गरिएको थियो।


























