काठमाडौं, फागुन ८ । ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।
शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए।
अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो। पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले बताए।
Facebook Comments


























