चितवन, फागुन ७ । प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ झण्डोत्तोलन गरिएको छ। भरतपुर महानगरपालिका–२ आँपटारी चोकमा नेपालको नयाँ झण्डा राखी झण्डोत्तोलनसमेत गरिएको हो।
प्रजातन्त्र दिवस जिल्ला समारोह समिति चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा झण्डोत्तोलन गरेका थिए। भरतपुरको मुख्य बजार र सरकारी कार्यालय क्षेत्र प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण यस ठाउँमा झण्डा राखिएको हो। यहाँबाट पवित्र तीर्थस्थल देवघाट पनि प्रवेश गर्न सकिन्छ।
सडकको बीचमा बनाइएको गोलो भागमा झण्डा राखिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रजातन्त्रको दिवसको महत्वका विषयमा प्रकाश पारेका थिए। सो ठाउँलाई थप सुन्दर बनाइँदै छ। नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका क्रममा आँपटारीमा सडकको बिचमा गोलो ठाउँ छाडिएको थियो। सोही ठाउँमा राष्ट्रिय झण्डा राखिएको हो।
नेपालमा प्रजातन्त्र दिवस विसं २००७ को क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ। यस्तै भरतपुर अस्पतालमा रहेका बिरामीलाई फलफूल एवं जुस वितरण गरिएको छ भने सहयोगापेक्षी सडक मानवको अभिभावक मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। रासस


























