चितवन । कथाकार रामलाल जाेशीको कथा संग्रह ‘ऐना’ असामीया भाषामा पनि प्रकाशित भएकाे छ। नेपालकै सर्वाधिक चर्चित र ठूलो धनराशिको मदन पुरस्कारबाट पुरस्कृत कथा संग्रहलाई असामीया भाषामा अनुवाद भएपछि भारतको असमस्थित गहपुरमा विमाेचन गरिएको हो। नेपालको भूगोल र भाषाको क्षेत्रबाट फड्को मार्दै पहिलोपटक असामीया भाषामा अनुवाद भएको भन्दै लेखक जाेशीले खुसी व्यक्त गरेका छन्।

नेपाली साहित्य देशबाहिरका पाठकले पनि पढ्न पाउने भएपछि नेपाली साहित्यको क्षेत्र केही फराकिलाे भएकाे महसुस गराएकाे उनले बताए। ऐनालाई असम गहपुर निवासी डा जगन्नाथ उपाध्यायले असामीया भाषामा अनुवाद गरेका हुन्। ऐनामा सुदूरपश्चिम नेपालको भूमीपूत्र थारु समुदायकाे कथा समेटिएको छ। धनगढीका लेखक जाेशीकाे लेखनमा ऐना कथा संग्रह प्रकाशन र सफलतापछि उनको ‘सखी’ उपन्याससमेत प्रकाशित छ।
Facebook Comments


























