काठमाडौं, फागुन ५ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ।
जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ। भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ। दिउँसो २ बजेका लागि पत्रकारहरुलाई बोलाइएको छ।
यसअघि २१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन्। खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो। जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो।
दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो। उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन्।


























