चितवन, फागुन ५ । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन्। घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो। स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए। सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए।
घर निर्माणमा झण्डै रु २४ लाख खर्च भएको छ। चार लाख जिन्सीसहित रु २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए। घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ। कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए। शिक्षक कर्णको यहाँ आफ्नै घर छैन। कङ्काली माविअगाडि शिक्षक आफैँले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सक्नुभएको थिएन।
सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ। नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो।
सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गरे। “शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ”, महानायक हमालले भने। शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिए। घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भने, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु।” रासस


























