माघ ३० । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेस नाम गरेका युवकलाई प्रहरीले गत साता संघीय अभियोगमा पक्राउ गरेको हो। उनले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर बाइडेनलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ।
डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छु’ भन्दै धम्की दिने गरेको पत्ता बताइएको छ।
अमेरिकामा राष्ट्रपतिलाई धम्की दिएमा पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिबाना गरिने कानूनी व्यवस्था रहेको छ। यसअघि पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की दिने एक जनालाई ९ वर्षको जेल सजाय सुनाइएको थियो। डेभिडका वकीलले भने उनी मानसिक रोगी रहेको बताएका छन्। एजेन्सी


























