काठमाडौं, माघ २९ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपतिका गलत क्रियाकलापबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिन पाइने बताएकि छिन्। उनले भनिन् ‘यो गणतन्त्र हो, राजतन्त्र होइन, राष्ट्रपतिका गलत कामका बारेमा मज्जाले अभिव्यक्ति दिन पाइन्छ।’
प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको पनि उनले बताएकी छिन्। उनले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने प्रतिक्रिया दिइन्। उनले भनिन् ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म। जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं।’
‘संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले भनिन्।’ संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ। त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो। त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन’ उनले भनिन्।


























