काठमाडौं, माघ २८ । नेकपा दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्ने अधिकार नभएको बताएका छन्। दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओलीको जंगली प्रवृत्ति खारेज गर्नुपर्ने बताएका हुन्।
‘पुस पाँच गते जब प्रधानमन्त्री र यो सरकारले असंवैधानिक कदम चाले संसद विघटन गरेर। हाम्रो आन्दोलनको लक्ष्य अब संसद विघटन पुनःस्थापन गर्नु हो। संविधानमा प्रष्ट व्यवस्था गरेको संवैधानिक नियुक्ति असंवैधानिक ढंगबाट बलमिच्याइँ गरेर नियुक्ति गरिएको छ। यो जंगली प्रवृत्ति खारेज गर्नु पर्छ,’ उनले भने, ‘ यो संविधान अन्तरगत प्रधानमन्त्री चार वटा अवस्थामा पदमुक्त हुनेछन्। प्रधानमन्त्रीको निधन भएमा, अविश्वासको प्रस्ताव पारित भएमा, प्रधानमन्त्रीले राजीनामा दिएमा र संसदको सदस्य नभएमा संसद विघटन भइसकेको अवस्था छ। केपी ओली संसद सदस्य छैनन्। राष्ट्रपतिले कामचलाउ भनेर भन्नु बाहेक यो अवैधानिक छ। ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्ने बैधानिक आधार छैन।’
उनले ओली नेतृत्वको सरकारले बैशाखमा हुने भनेर भनिएको चुनाव गराउनलाई घोषणा नगरेको पनि दाबी गरे। ‘चुनाव घोषणा गरेर लोकतन्त्रवादी हामी भन्दै सरकारी पार्टीले स्याल हुयाइँ गरेको छ। तर, कुन चुनाव ? संविधान लागू गर्ने चुनाव ?, संविधानलाई घात गर्ने चुनाव ? संविधानलाई अपहरण गरेर गर्ने चुनाव हामीलाई चाहिएको छैन,’ हामी पनि चुनावकै पक्षमा छौँ, लोकतन्त्रको रक्षा गर्न चुनाव चाहिन्छ ध्वस्त गर्न होइन। यो घोषणा चुनाव नगर्न घोषणा गरिएको हो।’
ओलीले संधिवानमा कालो पोतेर फाँसीबादको अभ्यास गरिरहेको श्रेष्ठको भनाइ छ। ‘ओलीले संविधानमा कालोमसी पोतेर नेपालमा फाँसीबादको अभ्यास गरेका छन्। हामी फाँसीबाद सहँदैनौँ,’ उनले भने, ‘संयुक्त आन्दोलन नभएपनि एकीकृत संघर्ष भइरहेको छ।’


























