काठमाडौं, माघ २८ । नेकपा–दाहाल नेपाल समूहका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई आफ्नो सभा हेर्न निमन्त्रणा गरेका छन्। खनालले माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो सभालाई कास्टिङ भन्दै दाहाल नेपाल समूहलाई व्यंग्य गरेको प्रति कटाक्ष गर्दै आज प्रदर्शनी मार्गमा भएको सभामा आउन भनेका हुन्।
‘केपी ओलीले दरबार भन्दा अगाडि केही हजार मान्छेसँग सभा कस्ता हुन्छन् भनेर कास्टिङ हो भनेर भनेछन्,’ खनालले भने, ‘आउनुस प्रदर्शनी मार्गमा आउनुस् सभा कस्तो हुन्छ हामी देखाउछौँ। सभा भनेको यो हो। नेपालीको आवाज भनेको यो हो।’ उनले निर्वाचन आयोगका आयुक्तहरुलाई पनि आजको सभा हेरेर पार्टी आधिकारिकताको विषयमा अलमल नगर्न भनेका छन्। ‘निर्वाचन आयोगमा हाम्रा आयुक्तहरुलाई बडो सकस परेको छ। तर, आदाराणीय आयुत्तहरुले अलमलिनुपर्दैैन। प्रदर्शनी मार्गमा आउनुस यो भन्दा अरु नेकपाको आधिकारिक पार्टी नेपालमा हुन सक्दैन। त्यसैले तपाइँहरु कहाँ कानुन मिलाउनुपर्ने छ मिलाउनुस्। प्रक्रिया कहाँ मिलाउनुपर्ने छ, मिलाउनुस। यो घोषणा गर्न ढिला नगर्नुस्।’
उनले ओलीको खुट्टी हेरेर सबै थाहा भइसकेको पनि बताए। ‘उहाँले (ओलीले) अस्तिमात्रै महेन्द्रको शालिक तिर फर्केर २, ४ हजार मान्छे भेला गरेर अब आउने चुनाव गरेर म दुई तिहाई बहुमत ल्याउँछ भन्नु भयो,’ उनले भने, ‘तपाइँका खुट्टी हेर्दै पत्याइँ, अब दुई वर्ष यो देशमा चुनाव हुन्छ। दुई वर्ष पछि हेर्नुहोला १६५ सिटहरुमा तपाइँका जमानत जफत हुँदैछ।’


























