माघ २८ । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया जारी रहने भएको छ। त्यहाँको माथिल्लो सदन सिनेटले ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको हो। जसअनुसार सुनुवाइका पक्षमा ५६ र विपक्षमा ४४ मत खसेका छन्।
बीबीसीका अनुसार सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ट्रम्पकै पार्टी रिपब्लिकनका पनि ६ जनाले मतदान गरेका छन्। योसँगै ट्रम्पविरुद्धको महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको हो।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शासन सत्ता सम्हाल्नुअघि उनको जितको प्रमाणीकरण गर्न यही जनवरी ६ तारिखका दिन सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद् भवनभित्रै आक्रमण गरेका थिए। जसमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।
त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उनीविरुद्ध अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा महाभियोग दर्ता गरिएको हो। जुन त्यहाँबाट पारित भएर माथिल्लो सदनमा लगिएको हो। एजेन्सी


























