काठमाडौं, माघ २१ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ६ दशमलव ८१ अंकले घटेको छ। परिसूचक २ हजार ४६६ दशमलव ९२ विन्दुमा पुगेको हो। बुधवार कारोबारमा आएका २०२ ओटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटकमा रू ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ बराबरको शेयर खरीदविक्री भएको हो।
सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.२ हजार ५५२ पुगेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको लागि साधारण सभा मिति तय गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको हो।
कम्पनीले उक्त लाभांश पारित गर्नको लागि आगामी फागुन १३ गते साधारण सभा बोलाएको छ। माघ २९ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन्। त्यसैगरी जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो।
कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको १ दशमलव ०४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य २ प्रतिशत, बैकिङ्ग समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ।
बुधवारको कारोबार दिनमा सर्वाधिक कारोबार भने ग्लोबल आइएमई बैंकको भएको छ। उक्त कम्पनीको रू। ५६ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ। सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ३२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ।
बुधवारको कारोबारमा सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनीको शेयरधनीले गुमाएका छन्। उक्त कम्पनीको शेयर मूल्य ७ दशमलव ८८ प्रतिशतले घटेको हो। उक्त कम्पनीको शेयर मूल्य बुधवार प्रतिकित्ता रू. २६९ कायम भएको छ।
केहि दिन अघिसम्म कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको थियो। बजार केहीमात्रामा करेक्सन भएसँगै लगानीकर्ताले अल्पकालिन नाफा बुक गरेकाले बजार घटेको हो। कारोबारको शुरुवाती समयमा नेप्से २ हजार ५०० अंकमा पुगेको थियो।
बढेको बजारमा विक्रेता हावी हुँदा केहि फेरि बजार घटेको हो। शेयर बजारमा पछिल्लो समय अल्पकालिन लगानीकर्ताहरु हावी हुँदा बजार भने निरन्तर घट्दै बढ्दै गरिरहेको छ।


























