आफ्नै लय समाउँदै निरन्तर बगिरहेकी छिन् नारायणी। आन्तरिक पर्यटककाे रुपमा नारायणीकाे काखमा रमाउने हामी। र, त्यही नारायणीकाे काखमा रमाउनेहरुकाे भाेक प्यास मेटाउन तल्लीन एकजना युवा, जसलाई नारयणीकाे काखमा खेल्नेहरुलाई भाेक र प्यास मेटाउन मात्र नभई आफ्नै परिवारकाे अनेक रहर र चाहनालाई पनि पूरा गर्नुछ। ती सबै आवश्यकता पूरा गर्न हरेक दिन सूर्यकाे किरणदेखि चन्द्रमाकाे शितलतासँगै एकोहोरो घाेटिइरहेका छन् सूर्यचन्द्र खतिवडा। चितवनकाे रत्ननगर नगरपालिका वडा नम्बर ९ का उनकाे हाेटल गर्ने तरिका पनि अरुकाे भन्दा केही पृथक छ।
लाफिङ, केराको मःम, पकौडा, फ्रेन्च फ्राइज, स्यान्डविच, आलु टिक्की, स्पाइरल पोट्याटो, बर्गर आदि खानाका परिकार बनाएर बेच्ने उनले ट्रकलाई हाेटल बनाएका छन्, जसलाई उनले ‘भेजी एक्सप्रेस फूड ट्रक’ नाम दिएका छन्। शुद्ध शाकाहारी खाजाका विभिन्न परिकार चखाउन उनी हरसमय व्यस्त छन्। उनकाे अनुभवमा लाफिङ र केराको मःम सबैभन्दा धेरैले मन पराउँछन्। त्यसकारण बढी बिक्री हुने खाजामै जोड दिँदै आएका छन्।

आफ्नै जिल्लाभित्र केही गर्छु भन्ने अठोटका साथ व्यवसायमा लागेका खतिवडाले नै चितवनमा लाफिङको शुरवात गरेका हुन्। काठमाण्डौंको बौद्धमा खुबै चलेको देखे पनि चितवनमा खासै नदेखेपछि नदी किनारमा बसेर यसैको व्यापार गर्ने सोच बनाएका हुन्। तीन दिन बौद्धमा गएर लाफिङ बनाउन सिकेका उनले अहिले चितवनको लागि नयाँ परिकारको स्वादमार्फत ग्राहक तान्ने प्रयास गरिरहेका छन्। मैदाबाट बन्ने स्वादिष्ट परिकारभित्र पर्ने यो खाना तिब्बतीयन (स्ट्रिट) सडक खानाको रुपमा परिचित छ।
चारवर्ष चीनको मकाउ र त्यसपछिको चारवर्ष युके स्कटल्याण्डको बसाइपछि भिषाको समस्याले उनलाई नेपाल फर्काइदियाे, जसले गर्दा स्वदेशमै लगानी गर्ने वातावरणकाे सिर्जना भयाे। विदेश बसाईमा देखे/सिकेको अनुभवलाई आफ्नै ठाँउमा उपयोग गरेर उदाहरणीय बन्ने प्रयासमा छन् उनी। शुरवाती चरणमा ठाउँठाउँमा हुने मेला महाेत्सव र चाड पर्व उनकाे व्यवसायकाे लागि विशेष थियाे।

सौराहा फूड फेस्टिबल, एकादशी मेला, बिक्रम बाबा मेला, क्याम्पचौरको फूड फेस्टिबल र जिल्लामा हुने अन्य ठूला साना मेला महाेत्सव नै उनलाई सबैभन्दा राम्राे आम्दानीकाे स्राेत बनेकाे थियाे। तर, मेला महाेत्सव पनि हरेक दिन नहुने हुँदा एकदिन उनकाे व्यावसायिक ट्रक नारायणी नदी किनारतर्फ माेडियाे। मेला महाेत्सवबाट नदी किनारतर्फ ट्रक माेडिएपछि भने उनकाे ट्रकलाई फेरि मेला महाेत्सवकाे खाेजीमा दाैडाउनुपरेन।
अहिले उनी दिउँसो करिब १ बजेतिर भेजी एक्सप्रेस गाडी लिएर नदी किनार आइपुग्छन्। साँझसम्मकाे व्यस्ततालाई बिट मारिसकेपछि मात्रै घर फिर्ती हुने उनलाई नारायणीकाे काख राम्रै फापेकाे छ। करिब २० लाख रुपैयाँ लगानीमा शुरु गरेकाे उनकाे व्यवसायबाटै पाँच जनाले रोजगारीसमेत पाएका छन्। परिवारको सहयोग, ग्राहककाे राेजाई र विश्वासले पनि उनलाई थप जाँगर मिलेको छ। दैनिक ८/१० हजारको कारोबार यही व्यवसायबाट गर्दै आएका उनलाई औसतमा अरु बारभन्दा सोमबार र शनिबार अलि बढी काराेबार हुन्छ।

कोभिड-१९ ले अस्तव्यस्त बनेकाे दैनिकी पनि पछिल्ला केही महिनायता सामान्य बन्दै गएकाे छ, जसले गर्दा नदी किनारमा चहलपहल बिस्तारै बढ्दै गएकाे छ। मानिसहरुकाे आउजाउ बढ्दै जाँदा ट्रक हाेटलकाे काराेबारमा पनि केही वृद्धि हुने अनुमान छ। देश विदेश चहारेर पनि कामलाई साना-ठूलाे नभनी आफ्नै भूमिमा केही गर्न उद्धत देखिएका खतिवडा आफ्नाे लागि दुःख गर्द तल्लीन भए पनि उनकाे त्यही दुःख कसैका लागि भने प्रेरणाकाे स्राेत बनेकाे छ, त्यही दुःख र मिहिनेतकाे उत्साहले छिमेकी जिल्ला मकवानपुरकाे हेटौंडामा समेत ‘भेजी एक्सप्रेस फूड ट्रक’कै नाममा शाखा बिस्तार गरी सञ्चालन गर्न सफल भएका छन्।



























